निमोनिया के हो, यसबाट कसरी जोगिने ?

निमोनिया के हो, यसबाट कसरी जोगिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन् ।

गत नोभेम्बरमा चीनको नेशनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्रायः भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो । जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए ।

त्यसपछि विश्व स्वास्थ्य संगठनले त्यहाँको प्रशासनलाई उद्धृत गर्दै निमोनिया देखिएका बालबालिकाहरूमा गरिएको अध्ययनमा आफूहरूले चिन्ता गर्नुपर्ने गरी कुनै पनि अस्वाभाविक रोग निम्त्याउने कुरा पहिचान नभएको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले बालबालिकाहरूमा रोग प्रतिरोधी क्षमता कमजोर भएका कारण निमोनियाको समस्या देखिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो।
यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब–सहारा क्षेत्रमा देखिएको छ ।

निमोनिया के हो?

नेशनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज् एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ ।

जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ ।
ससाना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन् ।

लक्षण के के हुन्छन् ?

यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन् ।

यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अंगहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन् ।
यसको जटिल सङ्क्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ ।

अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ ।

निमोनिया कसरी फैलन्छ?

निमोनिया धेरै तरिकाबाट फैलन सक्छ । बालबालिकाहरूको नाक वा घाँटीमा सामान्यतया पाइने भाइरस वा ब्याक्टेरिया निलेर फोक्सोमा पुग्यो भने त्यसले सङ्क्रमण गराउन सक्छ ।

तिनीहरू हावामा पानीका छिटाहरूको माध्यमबाट, खकार वा सिँगानको माध्यमबाट वा यस्तो कीटाणु रहेको सतहमा हामीले छोएको अवस्थामा पनि फैलन सक्छ ।

निमोनिया गराउने र सर्ने अवस्थाबारे धेरै अनुसन्धानहरू हुन जरुरी छ जसका कारण यसको उपचार र रोकथाममा सहयोग पुग्नसक्छ ।

उपचार कसरी गरिन्छ?

यसको सङ्क्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ । तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ ।

धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ । तर केही मानिसहरूलाई यसले गम्भीर बिरामी पार्नसक्ने जोखिम हुन्छ र त्यस्ता मानिसहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्छ ।

अस्पतालमा मानिसहरूलाई साधरणतया श्वासप्रश्वास सहज बनाउनका लागि अक्सिजनसँगै झोल औषधी र एन्टिबायोटिक दिइन्छ ।

बिरामीहरूको छातीको एक्स–रे गरिन्छ र अन्य अवस्था पत्ता लगाउन रगत पनि जाँच गरिन्छ ।

कसरी जोगिने?

यसबाट जोगिनका लागि केही कदमहरू चाल्नुपर्ने हुन्छ ।

फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ । तर अमेरिकाको न्यास्नल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार खोपले मात्रै निमोनियाका सबै सङ्क्रमण रोक्न सक्दैन ।

खोप लगाएका मानिसहरूलाई समेत निमोनिया हुनसक्ने भए पनि खोप नलगाएका मानिसहरूको तुलनामा खोप लगाएका मानिसहरूमा गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम हुन्छ ।

उनीहरूलाई निमोनियाको लक्षण कम देखिने र लामो समयसम्म पनि नसताउने हुन्छ ।

सरसफाइमा ध्यान दिने(बारम्बार हात धोइरहने), धूमपान नगर्ने र स्वस्थ खानेकुरा तथा नियमित व्यायामका माध्यमबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राखिरहने हो भने पनि निमोनियाको जोखिम कम हुन्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस एनएचएसले निमोनियाका कारण स्वास्थ्य जटिलताको उच्च जोखिममा रहेका मानिसहरूलाई निमोकोकल खोप लगाउन भनेको छ ।

यो खोपले केही ब्याक्टेरियाका कारण हुने मेनेन्जाइटिस र सेप्सिस जस्ता सङ्क्रमणबाट पनि जोगाउँछ ।