पीएनजीलाई हराउँदै अफगानिस्तानको सुपर-८ यात्रा तय

पीएनजीलाई हराउँदै अफगानिस्तानको सुपर-८ यात्रा तय


काठमाण्डु-आईसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सुपर–८ को यात्रा तय गरेको छ ।

समूह ‘सी’ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अफगानिस्तानले पपुआ न्युगिनीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै अफगानिस्तान समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिँदै सुपर–८ मा पुगेको हो ।

पपुुआ न्युगिनीले दिएको ९६ रनको लक्ष्यसहित मैदान उत्रेको आफगानिस्तानले निर्धारित ओभरको १५.१ ओभर खेल्दै जम्मा ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

अफगानिस्तानको जितका लागि गुलबदिन नाइबले नट आउट रहँदै सर्वाधिक ४९ रनको पारी खेले भने मोहम्मद नवीले नट आउट रहँदै १६ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको पपुुआ न्युगिनीले निर्धारित ओभरको १ बल बाँकी रहँदै सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो । पपुआ न्युगिनीका लागि किल्पिन डोरिगाले सर्वाधिक २७ रनको पारी खेले भने एली नाओले १३, टोनी उराले ११ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

पपुआ न्युगिनीलाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए भने नविन उल हकले २ र नूर अहमले १ विकेट लिए ।