काठमाण्डु– पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र चीनको सिचुवान प्रान्तको लुझाउ नगर प्रमुख यु छिन्हीबीच लुझाउमा औपचारिक भेटवार्ता भएको छ ।
लुझाउ नगरको औपचारिक निमन्त्रणामा आउनुभएका महानगर प्रमुख आचार्य र उनीसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गरेका थिए।
प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१ का वडा अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई लगायत सहभागी थिए ।
भेटमा महानगर प्रमुख आचार्यले नेपाल र चीन बीचको युगौँदेखिको सम्बन्ध भएको बताउँदै असलमित्र राष्ट्रका रुपमा आफूहरूले लिने गरेको बताए । पोखरा र लुुझाउ एक अर्कामा भगिनी सहर भएको बताउँदै उनले पोखराबाट सिचुवानको छेन्दुुमा सुरु गरिएको व्यावसायिक उडानले दुवै सहरबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए ।
पोखरा–छेन्दु नियमित उडानसँगै पोखरासँग लुझाउसँगको सम्बन्धलाई अझ नजिक बनाउने बताउँदै उनले यस उडानलाई नियमित गराउनका लागि साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया