काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको लक्ष्य ‘सम्वृद्ध नेपाल–सुखी नेपाली’ रहेको भन्दै आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने योजनासहितको कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । सरकारको लक्ष्यलाई सहयोग पुग्ने कार्यक्रम जनताको तहबाट आउन सके त्यसलाई आफुहरुले सद्धैव सम्मान गर्ने उहाँको भनाई थियो ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ५ स्थित भद्रकाली कृषि सहकारी संस्थाको कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले आत्मनिर्भर हुने कार्यक्रम र योजना ल्याए सरकारले सहयोग गर्ने तत्पर रहेको बताउनुभयो ।
‘सानो योजना र कार्यक्रमको प्रस्तावसहित आउनुस, रोजगारी सिर्जना गर्ने कार्यक्रम बनाउनुस, सरकार त्यसमा सघाउन तयार छ,’ उहाँले भन्नुभयो– ‘खाली गनगन गर्ने हिसावले मात्रै प्रस्तुत नहुनु होला, केही न केही आत्मनिर्भर हुने कार्यक्रम र योजना बनाएर आउनुहोस, मेरो तर्फबाट पनि तपाईहरुलाई सद्धैव सहयोग हुन्छ ।’
सरकारको अहिलेको यो वृहत्त उद्देश्यमा कतै नीति, कानुन, कार्यक्रम र योजना बाधा भएको भए उहाँले सच्चाएर अघि बढ्ने पनि उल्लेख गर्नुभयो । विकासको काममा अस्पष्टता र अन्यौलता उत्पन्न भएको उदाहरण प्रस्तुत गर्दै रक्षा मन्त्री पोखरेलले भन्नुभयो–‘अहिले कस्तो छ भने बाटो भत्कियो भने नगरपालिकालाई भन्ने कि उपत्यका विकास प्राधिकरणलाई सोध्ने कि वा सडक विभाग कहाँ गुनासो गर्न भन्ने अन्यौलता छ ? अव नीतिमा स्पष्टता कायम गरिन्छ ।’
उहाँले संरचनाको गन्जागोलले आर्थिक विकास र सम्वृद्धिमा समस्या पैदा भएको दावी गर्दै आर्थिक विकास र सम्वृद्धि जिवनमा लागू गर्न सवैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभयो ।
सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै मन्त्री पोखरेलले सहकारीले धेरैलाई आत्मनिर्भर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सामूहिक ढंगले मिलेर काम गर्नुस, व्यवसाय फस्टायो भने अलि ङारङार ङुरङुर गर्न प्रवृत्ति त्याग्नुस । मिलेर काम गर्नुस ।’
प्रतिक्रिया