नवनियुक्त ६७ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

नवनियुक्त ६७ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित


काठमाण्डु – खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीय तर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी कूल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन्, जसमा ९ जना महिला छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आम नागरिकको केन्द्रविन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिए । आगामी दिनमा निष्ठावान्, इमान्दार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई बहन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति थियो ।