कास्की – पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो ।
पुलिस क्लब गत वर्षको उपविजेता हो । नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।
यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । पुलिसले पहिलो सेट २५–१६को सहज जीत निकाले पनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्किंदै पुलिसले २५–१९ को जीत हासिल गर्यो तर चौथो सेटमा एपीएफ खेलमा फर्किंदै २५–२२ को जीत निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो ।
दुवै टीमले निकै संघर्ष गरे पनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जीत निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद १ लाख ५० हजार हात पारेको छ । उपविजेता एपीएफले १ लाख १११ प्राप्त गर्यो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए । क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए । एपीएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर र पुलिस क्लबका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरू सबैलाई समान ५–५ हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको महिलातर्फको उपाधि भने एपीएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपीएफले दोस्रो सेटमा पनि २५–२३ कै जीत हासिल गर्यो तर तेस्रो सेटमा १३–२५ को हार व्यहोरेको एपीएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको छ ।
प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ ४–४ टीमको सहभागिता रहेको थियो । प्रतियोगिता भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।
प्रतिक्रिया