आईजीपी कुँवरद्वारा सकल दर्जालाई बडादशैंको टीका तथा प्रसाद प्रदान

आईजीपी कुँवरद्वारा सकल दर्जालाई बडादशैंको टीका तथा प्रसाद प्रदान


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बडादशैं २०८१ को अवसरमा आईतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी कर्मचारीलाई आईजीपी कुँवरले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवं प्रहरीका परिवारहरू समेतको उपस्थिति थियो ।

टीका ग्रहण कार्यक्रममा विजयादशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।