प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्घाटन

प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्घाटन


नुवाकोट – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको शनिबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उनले नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण समेत गरे ।

कार्यक्रममा आईजीपी कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गरे ।

प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने बताए । प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिएको समेत उनले उल्लेख गरे ।

नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित साधनस्रोतका बाबजुद पनि प्रहरीले आफ्नो शतप्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको चर्चा गर्दै प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीको रूपमा रहेको हुँदा यसको सामनाका लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायहरूको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।

समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्तिहरूविरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिबद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिए ।

स्थानीय तह उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौती तथा जोखिमहरूको विश्लेषण गरी निर्वाचन सुरक्षा योजना निर्माण गर्न तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन समेत उनले निर्देशन दिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, पूर्वप्रहरी संगठनका पदाधिकारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवं स्थानीयको उपस्थिति थियो ।

यसैगरी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिए ।