काठमाण्डु – गृहमन्त्री स्तरको मंगलबारको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका ३ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूमा डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे) रहेका छन् ।
दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । राष्ट्र, जनता र संगठनप्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवं कार्यकुशलता र इमान्दारिताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन् गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्याएको सेवाको प्रशंसा गर्दै सपोर्ट समूहले संगठनलाई गतिशीलता प्रदान गर्नुका साथै प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको उल्लेख गरे । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र विकासमा केन्द्रित रहेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. दामोदर पौडेलले प्राप्त जिम्मेवारीलाई बहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।
प्रतिक्रिया