प्रहरीका ८ अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका ८ अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे ।

मन्त्रिपरिषद्को २०८१ पुस २६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा २ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ पुस २८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा ५ जना र गृहमन्त्रीस्तरको २०८१ पुस २८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुशीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसूस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिए । संगठनको विकास र सुदृढीकरणको लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेशागत निष्ठा, व्यावसायिकता, इमान्दारिता र धैर्यतालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन समेत उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले संगठनको छवि उच्च गर्ने र यसको बृहत्तर हितको लागि सदैव क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।

दज्र्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।