आईजीपी कुँवरबाट जिप्रका रौतहटमा नवनिर्मित भवनहरू उद्घाटन

आईजीपी कुँवरबाट जिप्रका रौतहटमा नवनिर्मित भवनहरू उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार उद्घाटन गरेका छन् ।

उनले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण समेत गरे ।

कार्यक्रममा आईजीपी कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई प्रशंसा–पत्र समेत प्रदान गरे । कार्यक्रममा आईजीपी कुँवरले नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिएको विश्वास व्यक्त गर्दै सुविधा सम्पन्न भौतिक संरचना निर्माणले प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै प्रहरीबाट प्रवाह हुने सेवाको गुणस्तर थप प्रभावकारी हुने बताए ।

कानून विपरीत गतिविधि नियन्त्रण गरी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीको एकल प्रयासले मात्र नभई स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा मात्र सम्भव हुने उल्लेख गर्दै उनले स्थानीय नागरिकहरूबाट जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्नमा नेपाल प्रहरीलाई पूर्णरूपमा साथ एवं सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साह र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा प्रहरी उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल सरकारको नियमित बजेटबाट कूल १७ करोड ६४ लाख २७ हजार ६२८ रूपैयाँको लागतमा भवनहरू निर्माण कार्य सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, सञ्चारकर्मी एवं स्थानीयको उपस्थिति थियो ।