प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने पीसीसी बैठकको निर्णय

प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने पीसीसी बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाको उपस्थितिमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ ।

प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि २०८० को समयानुकूल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशन दिइएको छ ।

बैठकमा प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै हकहित र कल्याण अभिवृद्धि हुने गरी नेपाल प्रहरी कल्याण कोषद्वारा सञ्चालित विशेष कल्याणकारी कोष अन्तर्गत सहुलियत कर्जा कार्यक्रमलाई समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि कर्जा प्राप्त गर्न सेवा अवधि कम्तीमा ७ वर्ष हुनुपर्ने व्यवस्थालाई ५ वर्ष, सहुलियत कर्जा ४ लाख रूपैयाँलाई वृद्धि गरी ५ लाख रूपैयाँ र किस्ता अवधि ५ वर्षलाई ७ वर्ष कायम गरी सोअनुसारको मासिक किस्ता रकम र किस्ता संख्या निर्धारण गरी प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि २०८० को संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ ।