गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतको जाहेरी

गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतको जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाउँमा डोम परिवारलाई उठीबास लगाएको आरोपमा गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी परेको छ ।

पीडित परिवारले शनिबार दलितका अगुवासहित पुगेर जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका छन् ।

पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।

गाउँपालिका अध्यक्ष र पूर्व वडाअध्यक्षलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिइसकेको छ । अर्का आरोपी बजरंगी बाबा फरार छन् ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानूनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।

जातीय छुवाछुत सम्बन्धी कसूरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानूनी व्यवस्था छ ।

चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएको आरोप छ ।