भोलि राजावादीको प्रदर्शन हुँदा के छ प्रहरीको तयारी ?

भोलि राजावादीको प्रदर्शन हुँदा के छ प्रहरीको तयारी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार हुने राजावादी प्रदर्शनका लागि २ हजार ५०० सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ ।

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए ।

उनले भने, ‘२ वटा स्थलहरूमा प्रदर्शन हुँदैछ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइभर्सन गर्ने व्यवस्था मिलाएका छौं । यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरू नेपाल प्रहरीको तर्फबाट खटाइएको छौं । साधारणतया ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ ।’

प्रहरी प्रवक्ता आचार्यका अनुसार प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए ।

आचार्यले भने, ‘२–३ ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।

नेपाल प्रहरीले २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने जनाएको छ । उनले भने, ‘कुनै पनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दैछौं ।’

उनले प्रायःजसो प्रदर्शनका कार्यक्रमहरू माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको बताए । उनले बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरू खुला राख्ने अलग्गै नीति बनाइएको पनि बताए ।

उनले भने, ‘प्रायःजसो प्रदर्शनका हिसावले हेर्ने हो भने बढी फोकस हामी माइतीघरमा गर्छौं । किनभने त्यहाँ बढी प्रदर्शन हुने गर्दछ । अलिकति भृकुटीमण्डपमा हुन्छ । ट्राफिकको पनि डाइभर्सन छ । बाटोमा जाम नहोस् भनेर सजक छौं । बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाइभर्ट गर्ने गरेका छौं ।’

रात्रिकालीन समयको छुट्टै व्यवस्था

उनले ठमेल दरबारमार्गतिर व्यवसायका हिसाबले बढी भीड हुने भएकाले रात्रिकालीन समयमा समेत सुरक्षा व्यवस्थापनमा ध्यान दिने गरेको बताए । उनले आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरू सिभिलमा पनि परिचालन भएर त्यहाँ हुन सक्ने सम्भावित सूचनाहरू संकलन गर्ने र त्यहीँ अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको समेत बताए ।

उनले भने, ‘रात्रिकालीन पनि कुनै इभेन्टवेस छ भने इभेन्टलाई फोकस गरेर काम गर्छौं । २४ घण्टा नै त्यहाँको आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु आवश्यकता अनुसार सिभिलमा पनि परिचालन भएर त्यहाँ हुनसक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएका छौं । ’

उनले ट्राफिक उल्लंघनसँगै हरेक दिन विभिन्न किसिमका कारबाहीमा प्रहरीले जोड दिएको बताए । उनले भने, ‘ट्राफिक उल्लंघनका विषयमा विभिन्न किसिमको कारबाहीहरू गरिरहेका छौं । त्यसमा पनि कुन–कुन उल्लंघन भन्ने छ, रेगुलर प्रोसेसकै कुराहरू छन् । ट्राफिक उल्लंघनमा १ हप्ताको मात्र जरिवाना हेर्ने हो भने झण्डै २ करोड बराबरको हुन्छन् ।’

राजावादीहरूले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन् । ४ दलको समाजवादी मोर्चाले पनि भोलि नै काठमाण्डुमा बृहत् जनसभाको घोषणा गरिसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाण्डुमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि चैत १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।