एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया विश्वविद्यालयको बाहिर प्रदर्शन गरिरहेका विद्यार्थीमध्येबाट एक युवकले पेस्तोल तेस्र्याएको, गोली चलाएको र यस क्रममा प्रहरीले निर्वाह गरेको भूमिकालाई लिएर अनेक प्रश्न उठ्न थालेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा ती युवकले पेस्तोल तेस्र्याएर सडकमा हिँडिरहेको देखिन्छ । उनी सडकमा पेस्तोल तेस्र्याउँदै हिँडिरहेको समयमा प्रहरी भने हात बाँधेर उभिएका देखिन्छन् ।
प्रहरीका अनुसार दिनदहाडै सडकमा त्यसरी पेस्तोल बोकेर चारैतिर हल्लाउँदै हिँड्ने व्यक्तिको नाम गोपाल हो । ती युवकले आफूलाई ‘रामभक्त गोपाल’ भनेर चिनाएको प्रहरीको भनाइ छ ।
उनले गोली चलाउनुअघि फेसबुकमा लगातार अपडेट गरिरहेका थिए । पत्रकार विनोद कापडीले ४५ सेकेन्डको एक भिडियो सेयर गरेका छन्, जसमा ती युवकले सडकमा हिँड्दै पेस्तोल तेस्र्याएको र गोली चलाएको देखिन्छ । भिडियोमा सोही स्थानमा रहेका प्रहरी भने मुकदर्शक देखिन्छन् ।
सोही क्रममा केही क्यामेरामेनले युवकको हातमा पेस्तोल रहेको भन्दै चिच्याइरहेको देखिन्छ । गोली चलिसकेपछि प्रहरीले ती युवकलाई पक्राउ गर्छ र जिपमा राखेर लैजान्छ । ती युवकले चिच्याउँदै आफू ‘रामभक्त’ रहेको बताएका थिए ।
कैयौँले दिल्ली पुलिसलाई ट्विटरमा ट्याग गर्दै सोधिरहेका छन् कि ती युवकले पेस्तोल देखाउँदै हिँडिरहेको अवस्थामा पुलिस किन हात बाँधेर बसिरहेको ? उसलाई रोक्न वा नियन्त्रणमा लिन किन प्रयास नगरेको भनेर उनीहरुले प्रश्न गरिरहेका छन् ।
माया मिरचन्दानीले प्रहरीको भूमिकामा प्रश्न गर्दै ट्विट गरेकी छन्, ‘दिल्ली पुलिस ती प्रहरीमाथि कस्तो कारबाही गर्छ, जसले हतियार देखाउँदै हिँडिरहेको युवकलाई हेरिरहे !’
उत्तरपूर्वी जिल्लाका उपकमिस्नर चिन्मय बिस्वालले प्रहरीमाथि उठाइएका प्रश्नको औचित्य नरहेको बताए । उनले प्रहरीमाथि आरोप लगाउनु नयाँ कुरा नभएको टिप्पणी गर्दै भने, ‘यो प्रदर्शनका लागि अनुमति दिइएको थिएन, हामीले विद्यार्थीलाई र्याली ननिकाल्न भनेका थियौँ ।’
प्रहरीले गोली चलाउने युवकलाई समयमै रोक्न वा नियन्त्रणमा लिन नसकेको प्रश्नको जवाफमा उनले भने, ‘पुलिस होली फेमिली अस्पताल अगाडि उभिएको थियो, प्रदर्शनकारीहरुको आचरणका कारण प्रहरी उनीहरुतर्फ थिएन । भीडमा निगरानी गर्ने काम आयोजकको पनि हुन्छ, कोही असामाजिक तत्वको घुसपैठ नहोस् भनेर आयोजक आफैँ जिम्मेवार हुनुपर्छ ।’
उनले भने, ‘भिडियोलाई राम्ररी हेर्नुहोस्, त्यो मान्छे प्रदर्शनकारीतिरबाटै आएको छ, अगाडि आयो, पछाडिबाट हाम्रा पुलिस अधिकारीले उसलाई नियन्त्रणमा लिने प्रयास गरेका छन्, यो पनि भिडियोमा देखिन्छ ।’
उनका अनुसार हमलाकारी युवक हाल प्रहरीको नियन्त्रणमा छन् । उनीसँग सोधपुछ भइरहेको उनले बताए ।
यसै बारेमा सांसद असदउद्दीन ओवैसीले ट्विट गर्दै भनेका छन्, ‘दिल्ली पुलिस, अघिल्लो महिना जामियामा तपाईंहरुले जे बहादुरी देखाउनु भयो, त्यसले के भयो ? मुकदर्शक बनेर बस्ने प्रत्यक्षदर्शीका लागि कुनै इनाम छ भने तपाईंहरुले प्रत्येक पटक त्यो जित्नुहुने छ । तपाईंहरु भन्न सक्नुहुन्छ कि गोली लागेर घाइते युवकले प्रहरी ब्यारिकेडमा किन चढ्नु पर्यो ? तपाईंहरुको सर्भिस रूप तपाईंलाई मान्छे हुनबाट पनि रोक्छ ?’
उनले उक्त ट्विटका साथ पुलिस ब्यारिकेटमाथि चढेर हिँडिरहेका घाइते युवकको तस्बिर पनि सेयर गरेका छन् ।
सिदरा नाम गरेका एक प्रयोगकर्ताले दिल्ली पुलिसलाई ट्याग गर्दै लेखेका छन्, ‘आफूले आफैँलाई याद दिलाउनुस्, आतङ्कवादी… दिल्लीमा खुला घुमिरहेको थियो, उसले कहाँ हतियार पायो ? दिल्ली पुलिस के गरिरहेको थियो ? लाजमर्दो ।’
अनुभव खन्डेलवालले गोली चलाउने युवकको एउटा पोस्ट सेयर गर्दै प्रश्न गरेका छन्, ‘यो स्पष्ट हुन्छ कि यो हमला पूर्व्नियोजित थियो । दिल्ली पुलिससँग कुनै जानकारी थिएन र हमलाका समय उनीहरु हमलाकारीलाई हेरेर मात्र बसिरहेका थिए, राजनीतिमा सबैकुरा सम्भव हुन्छ ।’
राजेन्द्र साहनीले लेखेका छन्, ‘यदि यो सीएएको समर्थनमा र्याली हुन्थ्यो र कोही हतियार लिएर आउँथ्यो भने प्रहरीले निश्चित रूपमा उसलाई गोली हान्थ्यो, निश्चित रूपमा क्यामेरामेनले पुलिसको भन्दा बहादुरी देखाए, हमलाकारीलाई रोक्न अघि बढे ।’
सैय्यद माजले लेखेका छन्, ‘पुलिस हात बाँधेर क्यामेरामेनहरुलाई पोज दिइरहेका थिए ।’
पत्रकार राणा अय्युव लेख्छन्, ‘रामभक्त….को फेसबुकमा तरबार लहराएको तस्बिर छ, एक पूर्व्नियोजित हमला, जसमा उनले फेसबुकमा लेखेका छन्, साहिन बागको खेल अन्त्य । अमित शाह निश्चित रूपमा उनको प्रेरणा र योजनाकार हुन्, गृहमन्त्रीलाई कसले गिरफ्तार गर्ने ?’
प्रतिक्रिया