काठमाण्डु – नेकपा एमालेको दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ ।महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले भने, ‘आपटारी, बसपार्क, गैडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’
छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उनले बताए । उनकाअनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ । ‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्शकताअनुसार प्रटोकोलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भने, ‘भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरुको स्यवंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।’
उनकाअनुसार सशस्त्र प्रहरी ६ सय जति परिचालित छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।
पश्चिमबाट आउने गाडीलाइ नारायणी पुल तर्न राेक
त्यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले एमाले महाधिवेशनको उद्घाटन सत्रका दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पश्चिम नेपालबाट आउने गाडीलाई नारायणी पुल तर्न नदिने भएको छ ।
अत्यावश्यक बाहेकका अन्य सवारीलाई भरतपुर केन्द्रीय बसपार्क, आँपटारी, त्रिचोक, गैंडाकोट लगायतका क्षेत्रबाट नारायणगढमा प्रवेश गर्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
पश्चिम नेपालबाट आउने सवारी साधनलाई गैंडाकोटको भृकृटी कागज कारखाना अगाडि नै रोकिने र त्यहीँ नै पार्किङ गरिने उनले बताए । यस्तै पूर्वी नेपालका विभिन्न जिल्लाबाट महाधिवेशनका लागि सहभागी लिएर आउने गाडीहरुलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा झारेर बसहरु सबैलाई टिकौली जंगलको पूर्व रहेको चौरमा पार्किङमा राखिनेछ ।
माडी ठोरी तथा पश्चिम चितवनबाट आउने सवारीलाई केन्द्रीय बसपार्कमा नै सहभागीहरुलाई छाडेर बसपार्क वा अन्य पश्चिम चितवनका विभिन्न ठाउँमा पार्किङ गर्न लगाइने चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।
काठमाण्डु, पोखरा लगायतका ठाउँ र जिल्लाबाट आउने बस तथा अन्य सवारी साधनलाई आँपटारी, रामनगर, देवघाट जाने सडक लगायतका क्षेत्रमा रोकिनेछन् । त्यहीँ नै कार्यक्रममा आउने सहभागीहरुलाई झारेर नेपाल ट्रष्टको खुल्ला चौरमा सवारी साधन पार्किङ गरिने छ । माधिवेशनका लागि १३ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
पार्टीको कार्यक्रममा सहभागी हुन आउने र झण्डा भएका सवारी साधनलाई आउनका लागि सहज सुविधा दिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । बाटो यदि अवरोध भए हटाउनका लागि भन्दै सडकका विभिन्न ठाउँहरुमा ठूला क्रेनहरुसमेत राखिएका छन् ।
प्रशासनले भीआईपी र भीभीआईपीका लागि महाधिवेशनको उद्घाटन सत्रसम्म पुग्न अलग्गै पहुँच मार्ग दिएको छ । विदेशी पाहुनाहरुलाई पनि सोही अनुसारको सुरक्षा र अलग्गै पहुँच मार्ग दिइएको प्रजिअ तामाङले काठमाण्डुपाटीलाई जानकारी दिए ।
कार्यक्रम हेर्नका लागि विभिन्न ठाउँमा डिजिटल डिस्प्लेहरु राखिएका छन् । उदघाटन समारोहस्थलसम्म पुग्न नसक्नेले डिजिटल डिस्प्ले बोर्डमा प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।
महाविधेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा विभिन्न ६ वटा ब्लक बनाइएको छ । ती ब्लकमा एमालेका स्वंयसेवकसँगसँगै सुरक्षाकर्मीहरु पनि परिचालन गरिने चितवनका प्रहरी प्रमुख अधिकारीले बताए । उद्घाटन सत्र सकिएपछि बन्दसत्र हुने सौराहामा भने जिल्लाकै मौजुदा जनशक्तिले पुग्ने उनको भनाइ छ ।
उनले मूल रुपमा केन्द्रीय बसपार्क, आँपटारी र गैंडाकोटबाट विशाल जुलुस निस्कने बताइन् । झण्डा, पार्टीको ब्यानरसहित नेता कार्यकर्ताहरु नारायणी नदी किनार पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया