प्रहरी प्रधान कार्यालयले भन्याे ‘विप्लव’ लाई जहाँ भेट्यो, त्यहीँ समात्नुस’

प्रहरी प्रधान कार्यालयले भन्याे ‘विप्लव’ लाई जहाँ भेट्यो, त्यहीँ समात्नुस’


काठमाडौँ– प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा ‘विप्लव’ लाई पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई ‘विप्लव’लाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको हो । ‘विप्लव’ अहिले भूमिगत अवस्थामा छन् । उनी नेतृत्वको पार्टीमा रहेका धेरै नेता तथा कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाका पछिल्ला अभिव्यक्तिहरु विप्लवप्रति आक्रामक रुपमा प्रस्तुत हुनेगरी सार्वजनिक भएका छन् ।

विप्लवको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा जनअदालतको निर्देशन भन्दै पक्राउ पूर्जी टाँसेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन् । उनले विप्लवलाई राजनीतिमा मजान नगर्न चेतावनी दिएका थिए ।