प्रहरीले जुवाखालमा छापा हान्दा चार तल्लाबाट हाम फालेर दुई जनाको मृत्यु

प्रहरीले जुवाखालमा छापा हान्दा चार तल्लाबाट हाम फालेर दुई जनाको मृत्यु


काठमाडौं –काठमाडौंको मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा हान्दा भाग्ने क्रममा दुई जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तलाबाट हाम्फालेर दुई जना जुवाडेको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् । उनिहरु दुवै जनाको ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताए । उनकाअनुसार जुवा खालबाट एक महिला सहित २३ जना पक्राउ परेका छन् । एसएसपी लामाले घटनाकाअनुसन्धान भइरहेको जनाए ।

मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा प्रहरीले शुक्रवार राती छापा हानेको थियो । उनिहरुले बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेको बताइन्छ । प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिएको थियो । प्रहरीले जुवा खालबाट ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

लामो समयदेखी यसरी जुवा अखडा चल्दै आए पनि महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम राईले उक्त अखडालाई संरक्षण गरेको आरोप लाग्दै आएको थियो । राइले नै उनिहरुलाई संरक्षण गरेको उजुरी स्थानीयले दिएका थिए । स्थानीयको उजुरीको आधारमा एसएपी लामाले डिएसपी वोगटीको नेतृत्वमा सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो ।