प्रहरी हिरासतमा मृत्यु प्रकरणले संसदमा हंगामा

प्रहरी हिरासतमा मृत्यु प्रकरणले संसदमा हंगामा


काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।

सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हक विरुद्ध बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन्।

सांसदहरु अमरेश सिंह, लक्षमणलाल कर्ण, भरत शाह लगायतले सो घटनाको विरोध गर्दै छानविन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग समेत गरे। उनीहरुले घटनाबारे सम्बन्धीत मन्त्रीले सदनमा आएर जानकारी गराउन माग गरे।
सांसद लक्ष्मणलाल कर्णले सरकारले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गरेको भन्दै मानवअधिकार विरुद्धका सरकारका क्रियाकलाप विरुद्ध जागरुक हुन संसदको ध्यानाकर्षण गराए।

उनले संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपुर्ण भेला हुने स्वतन्त्रता दिएको भएपनि भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले राम मनोहर यादवलाई गैह् न्यायिकरुपमा नियन्त्रणमा लिई हिरासतमा नै हत्या गरेको दाबी गरे।

उनले घटनाबारे सम्बन्धीत मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने भन्दै शुन्य र विशेष समयमा उठाईएको प्रश्नको जवाफ दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले भने, ‘शुन्य समय के हो विशेष समय के हो सरकारको वास्ता देखि बाहिरको कुरा हो।’