भारतमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागि तीन जनाको मृत्यु

भारतमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागि तीन जनाको मृत्यु


नयाँ दिल्ली – भारत सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोधमा भारतमा आन्दोलन चर्किएको छ । यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरपछि प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएका छन् भने सयौं मानिसहरु पक्राउ परेका छन् ।

विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ । यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ । देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए ।

नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ । यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन् । यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले यो आरोप गलत भएको बताउँदै आएका छन् ।

तर, विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन् । पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ । मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ ।