माओवादी कार्यकर्ताबाट रोल्पामा कुटिए प्रहरी हवल्दार

माओवादी कार्यकर्ताबाट रोल्पामा कुटिए प्रहरी हवल्दार


रोल्पा – जिल्लाको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् ।

त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते भएका प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाइएको छ भने टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम रहेको प्रहरीले जनाएको छ ।

घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसी लगाएतले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए । केसी ३० बैशाख २०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा वडाअध्यक्षमा पराजित भएका थिए ।

डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए । बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो ।

मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो ? भनेर सोधेपुछ गरेका थिए । त्यति मात्रै हैन बाँठाले तिमी हरूवा माओवादीहरु भन्दै निहुँ समेत खोजेको बुझिएको छ ।

पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन्। घटनाबारे थप छलफल तथा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।