प्रहरी नियमावली संशोधन भएपछि एसएसपी बढुवाको बाटो खुला

प्रहरी नियमावली संशोधन भएपछि एसएसपी बढुवाको बाटो खुला


काठमाडौं – मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रहरी नियमावली संशोधन गरेको छ । नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो खुलेको छ । सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको हो ।

राजपत्रांकित श्रेणीमा एउटा दर्जाबाट अर्को दर्जामा बढुवा हुन पछिल्लो दर्जामा कम्तिमा चार वर्ष काम गरेको हुनुपर्ने प्रावधान तीन वर्षको बनाइएको छ। चार वर्ष प्रावधानका कारण ६ महिनाभन्दा बढी समययता एसएसपीमा १५ दरबन्दी रिक्त रहेको थियो। एसपीहरुको बढुवा नहुँदा त्यसको प्रभाव प्रहरी निरीक्षकहरुसम्मको बढुवामा परेको थियो।

सर्वोच्च अदालतले केही महिनाअघि गरेको फैसलामा तीन महिनाभन्दा बढी पद रिक्त गर्न नपाइने र कानुनले अड्चन गरे संशोधन गरेर बाटो खुला गर्न सकिने उल्लेख थियो। हालका सिनियर एसपीहरुको पदावधी आगामी फागुन १० गते मात्र चार वर्ष पुरा हुने भएकाले पहिलेकै नियमावलीका आधारमा प्रहरीको बढुवा हुन सक्ने स्थिती थिएन ।

असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि एसएसपीमा १५ दरबन्दी रिक्त थियो। त्यसअघि उक्त पदमा चार दरबन्दी रिक्त थिए। हालको प्रहरी नियमावलीको ब्यवस्थामा कुनै परिवर्तन नभए अब एसएसपीमा बढुवा हुनेमध्येहरुबाट एक जना प्रहरी महानिरिक्षक बन्ने निश्चित छ।

यसैगरि एसपीमा खाली हुने २९ दरबन्दी पुर्तीमा पनि डीएसपीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यो ब्याचबाट पनि एक जना प्रहरी प्रमुख बन्ने निश्चित छ अहिलेको प्रहरी नियमावलीको ब्यवस्थामा उल्लेख भएको ३० वर्षे सेवा अवधी कायम रहे।

प्रहरी नियमावली संसोधन भएपछि अहिले ३४ जना एसएपी बढुवाको प्रतिस्पर्धामा छन्। उनिहरुले एसपीमा कम्तीमा तीन वर्ष काम गरिसकेका छन्। २०७१ साल फागुन १० गते एकसाथ ३५ डीएसपीको बढुवा भएको थियो जसमा चार वटा प्रहरी निरिक्षकको ब्याचका अधिकृत थिए। त्यस एसपीको टोलीमा २०५१ साल चैतमा प्रहरी निरिक्षक भएका २२ जना, २०५२ साल असारमा प्रहरी निरिक्षक भएका ८ जना, २०४९ साल बैशाखमा प्रहरी निरिक्षक भएका एक जना र सोही वर्षको चैतमा प्रहरी निरिक्षक भएका चार जना प्रहरी अधिकृत थिए।

ती एसपीमध्ये राजुबाबु श्रेष्ठ, थानेश्वर रेग्मी र तुल्सी अधिकारीले अवकाश पाईसकेका छन्। पहिलो नम्बरमा एसपीमा बढुवा भएका डा गणेश रेग्मीले २०४७ साल असारमा प्रहरी सहायक निरिक्षक(असईबाट सेवा सुरु गरेका थिए। उनले २०५१ साल चैतमा खुलाबाट प्रहरी निरिक्षकमा नाम निकालेका हुन्।उनले बढीमा एसएसपीबाटै अवकाश पाउनेछन्

एसपीको दोस्रो नम्बरमा श्याम ज्ञवाली छन्। ज्ञवालीले प्रहरी निरिक्षकबाट २०५१ चैतमा सेवा सुरु गरेका हुन्। प्रहरी नायब उपरिक्षक(डीएसपीमा ज्ञवालीसँगै बढुवा भएका विष्णु केसीलाई पनि शीर्ष स्थानमा रहेर बढुवा हुन सक्ने प्रहरी अधिकृतका रुपमा लिइन्छ। केसीले २०५२ असारमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेका हुन्।

ज्ञवालीको टोलीभन्दा ६ महिनापछि एसपीमा बढुवा भएका दीपक थापा र अर्जुन चन्द ठकुरी पनि एसएसपीमा बढुवा हुने लाइनमा छन्। एसएसपी हुने लाइनमा चार जना महिला अधिकृत पनि देखिएका छन्।