प्रहरीलाई सर्वसाधारणको प्रश्न, घाइतेको उद्धार पहिले कि मुचुल्का र प्रमाण ?

प्रहरीलाई सर्वसाधारणको प्रश्न, घाइतेको उद्धार पहिले कि मुचुल्का र प्रमाण ?


काठमाडौं – ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोटन गरायो । विस्फोटमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ । विस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङ, काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर र बागडोलकी २६ वर्षीया प्रतीक्षा खड्का घाइते भएकामा गुरुङको उपचारका क्रममा शनिबार निधन भएको हो । सर्वसाधारणका अनुसार, त्यहाँ बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

बमको त्रासले सर्वसाधारणको भिड लागेको थियो । तर, उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । केही ढिलो गरी आएको प्रहरी पनि घाइतेकोे उद्धारभन्दा पनि मुचुल्का उठाउन लागे । यसबीचमा १० मिनेट मुचुल्का उठाउँदै लाग्यो । स्थानीयका अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर त्यहाँ जान रोक लगाएको थियो । चोटपटक लागेको तथा रगत बगिरहेको अवस्थामा समेत प्रहरीले मुचुल्का उठाइरहँदा घाइतेको उद्धारमा ढिलाइ भएको भन्दै सर्वसाधारण आफैंले अस्पताल लान ट्याक्सी तयार पारे तर प्रहरीले अनुमति दिएन र मुचुल्का तयार पानुपर्ने भन्दै ८ देखि १० मिनेट ढिलो हुन पुग्यो ।

तत्पश्चात् घाइतेमध्ये गुरुङलाई बीएन्डबी, मानन्धरलाई मेडिसिटी र खड्कालाई अल्का अस्पताल लगियो । गम्भीर घाइतेको संवेदनशीलता हेरी गुरुङलाई नजिकैको मेडिसिटी अस्पताल लानुपर्ने देखिन्छ तर उनलाई बीएन्डबी अस्पताल लगियो र पछि मेडिसिटीमा रिफर गरिएको थियो ।

यस्तै, शनिबार नयाँबजारमा एक टिपरले स्कुटरमा सवार अन्दाजी ३० वर्षीय युवकलाई ठक्कर दियो । घटनाको जानकारी पाएपछि ६ जनाको संख्यामा आएका ट्राफिक प्रहरीले टिपर र घाइतेको तस्बिर र घटनाको जानकारी लिन थाले । त्यसबीचमा झन्डै २० मिनेट ढिलाइ भएको प्रत्यक्षदर्शीको भनाइ छ । घाइतेको रगत बहिरहेको तथा अवस्था गम्भीर हँुदा केहीले घटनाको जानकारी लिने र केहीले अस्पताल लान सकिने अवस्थामा समेत प्रहरीले त्यसतर्फ ध्यान नदिएको देखियो । अन्त्यमा सर्वसाधारण ले नै मोटरसाइकलमा हालेर अस्पताल पु¥याएका थिए ।

यी प्रतिनिधि घटना हुन् । प्रहरीले यस्ता घटनामा पीडितको उद्धारभन्दा मुचुल्का लिने र फोटो खिच्ने गर्दा घाइतेको उद्धारमा ढिलाइ हुने गरेको र घाइतेको संवेदनशीलतालाई बेवास्ता गरिएको देखिन्छ । यसबाट घाइतेको ज्यानसमेत जोखिममा पर्ने गर्दछ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीका अनुसार घटनास्थलमा घाइतेको ज्यान जोगाउने कार्य पहिलो प्राथमिकतामा पर्दछ ।

जे जसरी हुन्छ व्यवस्था मिलाएर उपलब्ध साधनबाट घाइतेलाई स्वास्थ्य संस्था वा अस्पताल पु¥याउने प्रहरीको सम्पूर्ण इकाइमा निर्देशन हुने र सोहीअनुरूपको तालिम दिइने गरिन्छ । केही अपवादका रूपमा यस्ता घटना घटेको हुन सक्ने उनको तर्क छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।