प्रहरीद्वारा राजधानीमा आजदेखि निःशुल्क बस सेवा, यस्तो छ रुट

प्रहरीद्वारा राजधानीमा आजदेखि निःशुल्क बस सेवा, यस्तो छ रुट


काठमाडौँ – दशैंका बेला सर्वसाधारणलाई सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले आज बुधबार देखि उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

उक्त बस सेवा टीकाको दिन अर्थात् कात्तिक २ गतेसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालन हुने छन्।

बस सेवा उपत्यकाको तीनवटा रुटमा सञ्चालन हुनेछन् । दशैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार, पहिलो रुटको बसले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म बस चलाउने छ ।

यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा पुनः परिक्रमा गर्नेछ । यसैगरी दोस्रो रुटको बसले कोटेश्वरबाट शहीदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला हुँदै मैतीदेवी परिक्रमा गरी सोही रुटमा फर्कनेछ ।

त्यस्तै नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ । चक्रपथको बाहिरी र भित्र दुवै स्थानको सर्वसाधारणका लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।