काठमाडौं – प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका ३२ वर्षीय प्रविण खत्री प्रकरण रहस्यमय वन्दै गएको छ । प्रहरीले खत्री आफैले गोली हानेर आत्महत्या गरेको भनेपनि परिवारजनले भने प्रहरीले गोली हानी हत्या गरेको आरोप लगाएका छन् । प्रविणका वुवा प्रमोद खत्रीले प्रहरीले घरमा आएर गोली हानेको दावी गरेका छन् ।
उनले आफनो छोराले गैरकानुनी काम गरेको भए प्रहरीले प्रक्राउ गर्न सक्ने तर, गोली हानेर मार्ने अधिकार राज्यको जिम्मेवार निकाय प्रहरीलाई समेत नभएको बताएका छन् । खत्रीले घटनाको न्यायिक छानविन हुनुपर्ने माग गरेका छन् । उनका परिवार र आफन्तले ज्यान मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
यता, प्रहरीले भने प्रहरीको गोलीबाट उनको मृत्यु भएको भन्ने समाचारमा सत्यता नभएको दावी गरेको छ । प्रहरीकाअनुसार दुवै हातमा पेस्तोल बोकेका प्रविणलाई प्रहरीले लखेटेपछि उनले प्रहरीलाई लक्षित गर्दै गोली चलाएका थिए । त्यसपछि प्रहरीले पनि जवाफी फायर खोलेको थियो । त्यही क्रममा उनी ढलेका थिए ।
नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले जवाफी कार्वाही गरेको बताएका थिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै अनुसन्धान सकिएपछि मात्र सवै कुरा भन्न मिल्ने बताए ।
प्रहरीले खत्रीले दुईवटा अटोमेटिक पेस्तोल बोकेको दावी गरेको छ । त्यसका साथै प्रवीण लागु औषधीको संगठित धन्दामा पहिलेदेखि संलग्न रहेको प्रहरीको दावी छ । तर, खत्रीसंग घटनास्थलमा र उनको घरमा समेत कुनै पनि लागु औषध फेला भने पारेको छैन् । ‘खत्रीसंग भएको बन्दुक उनको हो वा प्रहरी स्वयंम्ले घटनापछि कथा बुनेको हो , त्यसमा पनि आशंका छ ।
यदी प्रहरीले भनेझै उनि लागु औषधका कारोबारी थिए भने उनको घरबाट प्रहरीले कति लागुऔषध बरामद गर्यो ? किन यो कुरा वाहिर आएन ?’ प्रहरीकै एक अधिकारीले घटना शंकास्पद भएको भन्दै काठमाण्डौपाटीसंग भने ।
घटनामा सहयोग गर्न कुसुन्ती पुगेको ललितपुर प्रहरीले भने त्यो भन्दा फरक बयान दिएको छ । ललितपुर प्रहरीका प्रवक्ता समेत रहेका एसपी ईश्वर कार्कीले भने प्रहरीले गोली नचलाएको दावी गरेका छन् । प्रविण आफैले कंन्चटमा गोली हानेको कार्कीको भनाई छ ।
यसरी उक्त घटनामा प्रहरीको तर्फबाट समेत फरक–फरक भनाई सार्वजनिक भएका छन् । प्रहरी स्रोतकाअनुसार खत्रीको मृत्यु भएपछि मात्र महाशाखा प्रमुख अमात्यले घटनाबारे जानकारी पाएका थिए । यता घटनामा संलग्न प्रहरीकै स्रोतले भने घटनास्थलमा प्रहरीले हवाई फायर मात्र गरेको दावी गरेको छ । ‘सामान्यता प्रहरीले इन्काउण्टर जतिसुकै निष्पक्ष भनेर दावी गरेपनि ती सवै पूर्व योजना मुताविक हुन्छन्, यो घटना पनि त्यसैको निरन्तरता हो ।’ नेपाल प्रहरीका एक पुर्व एआईजीले भने ।
काठमाण्डौमा पछिल्लो समय इन्काण्टर गर्ने घटनाको नेतृत्व अपराध महाशाखाले गर्दै आएको छ । प्रहरीले काठमाण्डौमा इन्काउन्टरको शुरुवात दिनेश अधिकारी चरीबाट गरेको थियो । त्यसपछी दोस्रो इन्काउन्टर अर्का गुण्डा नाइके कुमार घैंटेको भएको थियो । उनलाई पनि प्रहरीले आफ्नै घर अगाडिको खुल्ला चौरमा गोली प्रहार गरेको थियो ।
दुवै घटनामा प्रहरीले आत्मसुरक्षाका लागी गोली चलाएको दावी गरेको थियो । दुवै घटनामा प्रत्यक्षदर्शी धेरै भएपनि उक्त घटनाको अनुसन्धान अघि बढेन । चरी र घैटेको घटना पनि विवादरहित भने रहेन् । दुवै प्रकरणले संसदमा समेत चर्चा पाएको थियो । दुवैको पक्षमा एमाले र कांग्रेसका नेताहरुले प्रहरीले बर्दीको आड्मा गूण्डागर्दी देखाएको आरोप लगाएका थिए ।
कुसन्तुीमा मारिएका खत्री भने चरी र घैंटेजस्ता ठुला गुण्डा थिएनन् । उनि एक सामान्य लागु औषध सेवनकर्ता थिए । उनीबाट परिवारका सदस्य र टोलवासी आजित भएपनि गोली नै हान्नुपर्ने खालका अपराधी भने थिएनन् । नत् कुनै राजनीतिक संरक्षणमा गुण्डागर्दी गरेर हप्ता असुल्ने अपराधी नै थिए । फेरी सामान्यतया इन्काउन्टर गर्दा सम्बन्धीत जिल्लाको प्रहरी प्रमुख,महानगरीय प्रहरी प्रमुख,आईजिपी,गृहसचिव र गृहमन्त्रीलाई जानकारी हुन्छ । तर,यो घटनामा यी कसैलाई जानकारी नभएको स्रोत बताउछ ।
काठमाण्डौमा अहिले पनि चक्रे मिलन,गणेश लामा,दिपक मनाङगे र मनोज पुनजस्ता ठुला डनहरु खुलेआम हिडिरहेका छन् । उनिहरुलाई प्रहरीले प्रक्राउ गर्ने आट गर्दैन् तर, एउटा सामान्य लागु औषध प्रयोगकर्तालाई गोली हानेर प्रहरीले बहादुरी देखाउन खोज्छ । यो एक प्रकारको अपराध नै हो । प्रहरीकै एक उच्च अधिकारीले भने ।
सोमबार इन्काउन्टरमा परेका भनिएका ३२ वर्षीय प्रविण खत्री एक सामान्य लागु औषध प्रयोगकर्ता थिए । उनलाई प्रहरीकै लागुऔषध ब्युरोले पनि पक्राउ गर्न पटक–पटक कोशिस गरेको थियो । त्यतिवेला प्रक्राउ गर्न गएका प्रहरीका एक अधिकृतले भने ‘उसले छोराको घाटीमा खुकुरी तेस्र्याएपछि हामी पछी हटनुपरयो । ’ उनको बारेमा टोलका मान्छेले पटक–पटक उजूरी समेत गरेका थिए । खत्रीवाट परिवारका सदस्य आजित भएर नै सुधार केन्द्रमा समेत राखेका थिए ।
घटनास्थलमा भेटिएको भनिएको अटोमेटिक पिस्तोलको म्यागजिन खोलिएको र एक एक थान गोली पिस्तोल माथी टक्क एउटै पोजिसनमा राखिएको देखिन्छ। आफुलाइ कन्चटमा पिस्तोल हानेपछी यी दुई पिस्तोल प्रवीण आफैले यसरी मिलाएर राखे होलान् त ?
प्रतिक्रिया