पुस १ अर्थात् प्रजातन्त्र मासिएको दिन

पुस १ अर्थात् प्रजातन्त्र मासिएको दिन


काठमाण्डु- प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा पुस १ कालो दिवसका रूपमा सम्झना गरिँदैछ ।

२०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइराला लगायतका नेतालाई तत्कालीन शाही नेपाली सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।

यो दिनले देशमै पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरेन, देशमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्र अन्त्यको मार्ग चित्र बनाउने आधार समेत स्थापित गरिदियो ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थिया े। यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

२०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ । इस दिनलाई प्रजातन्त्रवादीहरूले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा सम्झिने गरेका छन् ।

यसरी आएको थियो पुस १

खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए ।

कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे ।

राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि ‘क’ गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुस १ भन्दा एकदिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए । उनले त्यही बेला देशकोे अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भइसकेको सूचना दिएका थिए ।

पुस १ को ‘कु’का योजनाकार तथा पूर्वप्रधानमन्त्री तुलसी गिरीले भनेका थिए, ‘कु हुन्छ भन्ने हामी केहीलाई थाहा थियो तर मिति बारे राजाबाहेक कसैलाई सुइँकोसम्म थिएन ।’

पुुस १ को अघिल्लो रात नारायणहिटी दरबारमा महेन्द्र पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरू पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन ।

महेन्द्रले ‘क’ु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो अति नै गोप्य राखेका थिए । कसलाई कसरी समाउने, के गर्ने भन्ने योजना पनि महेन्द्र आफैले आफ्ना निकट सहयोगीलाई समेत बताएका थिएनन् ।

महेन्द्रले राजनीतिक षड्यन्त्रको सम्पूर्ण योजना तयार गरेपछि पुस १ गते बिहान सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू देशको शासनभार हातमा लिने निष्कर्षमा पुगेका सुनाए ।

महेन्द्रको आदेश प्रधानसेनापतिले विमति जनाएका थिए । सेनामा उनी पछिका सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन् । सेनाको नेतृत्व ‘कु’को पक्षमा नदेखिएपछि महेन्द्रले राजदरबार भित्रकै सेनाका जेनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न सैनिक खटाएका थिए ।

त्यो दिन थापाथली उकालोस्थित तुङगशमशेर राणाको दरबारमा तरुण दलको महाधिवेशनमा सुरु हुँदै थियो । बीपीले उद्घाटन गर्ने त्यो अधिवेशनमा देशभरबाट युवा प्रतिनिधिहरू आएका थिए । गणेशमान सिंह, श्रीभद्र शर्मा, कष्णप्रसाद भट्टराईलगायत कांग्रेसका शीर्ष नेता र सबैजसो मन्त्री त्यहीं थिए ।

अधिवेशनमा बीपीले भाषण नसक्दै कर्णेल समरराज कुवर सैनिक वर्दीमा मञ्चतर्फ उक्लिए । उनले केही समयमै प्रधानमन्त्रीका अंगरक्षकलाई बाहिर आउन इसारा गरे । त्यसपछि सेनाले सम्मेलन स्थल घेरिहाले ।

अनी प्रधानसेनापतिको रोलमा रहेका शाही सेनाका दोस्रो तहका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए र प्रधानमन्त्रीलाई स्यालुट ठोके । अनि सुरुमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । अनि विपी गिरफ्तार भए र महेन्द्रले ‘क’ गरी प्रजातन्त्रको अपहरण गरे ।