नेताहरू विदेशीको ईशारा विना श्वास पनि फेर्न सक्ने अवस्थामा छैनन् : अध्यक्ष साह

नेताहरू विदेशीको ईशारा विना श्वास पनि फेर्न सक्ने अवस्थामा छैनन् : अध्यक्ष साह


काठमाण्डु – आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुइँ चढेर नेपाली जनतालाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाण्डुको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनतालाई नतर्साउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।

उनले भने, ‘अहिलेको सरकार अनैतिक र अप्राकृतिक छ । हामी यसको अन्त्य चाहन्छौं । केपी ओलीले देउवा दम्पत्तिको बुइँ चढेर दुनियाँलाई तर्साउन खोजिरहेका छन् । अपवित्र बाटोबाट देशलाई अन्धकारमा धकेल्न खोजिरहेका छन् ।’

अहिले दलाल दलतन्त्र हाबी भएकाले देश दूरावस्थाबाट गुज्रिरहेको उनले बताए । उनले भने, ‘आज नेपाल संकटबाट गुज्रिरहेको छ । सत्ता स्वार्थको अपवित्र, अनैतिक राजनीतिले जनता निराश छन् । जनता उकुमुकुसको अवस्थामा छन् । देशमा बढ्दो अस्थिरताको कारण देशकै अस्तित्व संकटमा परेको कुरा हामीले हेरिरहेका छौं । नेपाली जनताले अहिले देशमै भविष्य देख्न छाडे, हाम्रा युवाहरू विदेश पलायन हुँदैछन् ।’

नेपालका ठूला भनाउँदा नेताहरू विदेशीको इशारामा चलिराखेको उनले बताए । उनले भने, ‘नेपालका नेताहरू विदेशीको ईशारा विना श्वास पनि फेर्न सक्ने अवस्थामा छैनन्, वैदेशिक हस्तक्षेप बढ्दो छ ।’