अब मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रचण्ड

अब मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मन्त्रिपरिषद् पुनर्गठन हुँदा तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने घोषणा गरेका छन् ।

सोनाम ल्होछारको अवसरमा आज शनिबार तामाङ समुदायले काठमाण्डुको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीय मन्त्रिपरिषद् पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने घोषणा गरे ।

उनले भने, ‘म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ, पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ ।’

गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको तर बागमती प्रदेशको मात्र मन्त्री बनाउन सकिएको भन्दै उनले अब संघीय सरकारमै मन्त्री बनाउने घोषणा गरे ।

उनले सोनाम ल्होछार कार्यक्रमका लागि सरकारले दिने सहयोग रकम नपाएको विषयमा आफूले बुझ्ने र यस वर्ष पनि सहयोग गर्ने बताए ।

उनले भने, ‘हाम्रो कर्मचारीतन्त्र, हाम्रो विधि, विधान र प्रक्रिया निकै जटिल छ । मैले पक्कै पनि गत साल भनेको हो– विगतको भन्दा दोब्बर गरेर तामाङ ल्होछारका लागि सहयोग हुन्छ । मैले त सही गरेर दिएको पनि हो । यहाँ उद्घोषकले घुमेको घुमेकै गरेको अर्थ र पर्यटन मन्त्रालयमा भनेर भन्नुभएको छ । म पोहोरलाई पनि फलो गर्छु ।’