नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नुपरेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नुपरेको छ : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन् ।

जनवायु परिवर्तन र दीगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज शुक्रबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए ।

विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने उल्लेख गर्दै उनले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको स्पष्ट पारे ।

‘हाम्रा जनता पहिरो, बाढी, जंगलको डढेलो, हिमपहिरोको प्रकोप, खडेरी आदिजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,’ उनले भने, ‘जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा संसारको ध्यान जानुपर्छ ।’

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने योजनाहरू कार्यान्वयन गर्ने प्रयासमा गम्भीर वित्तीय र प्राविधिक खाडलहरू देखिएको उल्लेख गर्दै उनले पारिस्थितिकी प्रणाली र जलवायु परिवर्तनसँग जनतालाई लचिलो बनाउन एवं स्थानीय स्तरमा जलवायु अनुकूलन गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्नका लागि थप स्रोतहरू जुटाउनुपर्ने आवश्यकता रहेको बताए ।

जलवायु न्यायको पक्षमा वकालत गर्न र पारिस्थितिकी प्रणाली, मानिस र पृथ्वीको दीगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले सहज तवरले हानिनोक्सानी कोष कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘१०० बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन चाहन्छु ।’

अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत वनले ढाकेको जमिनलाई कायम राख्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौं ।’