‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा कलाकार सांस्कृतिक विकृतितर्फ अग्रसर भए : प्रचण्ड

‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा कलाकार सांस्कृतिक विकृतितर्फ अग्रसर भए : प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसंगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए ।

विविधतापूर्ण मौलिकतामा आधारित गीतसंगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै उनले भने, ‘दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् तर पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार समेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।’

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै उनले ‘भाइरल’को अर्थ संक्रामक प्रसार हो, जुन राम्रो कुरा नभएको बताए । सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरू समेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै उनले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे ।

पछिल्लो अधिवेशनबाट प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषय समेत आफूले जानकारी पाएको उल्लेख गर्दै उनले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।