पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुंगा सावित हुनेछ : प्रधानमन्त्री प्रचण्ड

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुंगा सावित हुनेछ : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

‘घुमौं भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आज शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

विशिष्ट पाहुनाहरूबाट १५० वर्षदेखि चितवनका जंगलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जंगल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, ‘यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।’

पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले १ दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।

‘विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचीमा अग्रसर महानगरपालिका हो,’ उनले भने, ‘कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिंकरोड, हुलाकी मार्ग, पूर्वपश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू छन् ।’

चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।’

अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृंखलाको दृश्यावलोकन एवं समथर तराईको भूभागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै उनले ऐतिहासिक स्थलहरू, गढी, दरबार, संग्रहालय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू रहेका बताए ।

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको बृहत प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको उनले बताए ।

दीगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै उनले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरेका छन् ।