माओवादीलाई उपयोग गर्ने कल्पना कसैले नगर्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

माओवादीलाई उपयोग गर्ने कल्पना कसैले नगर्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् ।

सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रममा उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे ।

उनले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारे । ‘साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ,’ उनले भने, ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शक्ति हो ।’

सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादत भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै उनले भने, ‘माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन ।’

आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै उनले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए । उनले भने, ‘सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन ।’

प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै उनले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे । शहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौं, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।’

आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिहरेको उल्लेख गर्दै उनले शहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरेका छन् ।

क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै उनले भने, ‘मानिस २ खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, मार्क्कवाद भनेको गन्तव्यमा पुग्नका लागि २ खुट्टाले हिँड्नुपर्छ ।’

नेपालले वैज्ञानिक र सन्तुलित भूराजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारेका छन् ।