प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नाउपा दल नेता श्रेष्ठको ‘ह्वीप’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नाउपा दल नेता श्रेष्ठको ‘ह्वीप’


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन् ।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा चारै सांसदलाई अनिवार्य उपस्थिति भई पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन् ।

सांसदहरूलाई प्रेषित पत्रमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको व्यहोरा अनुरोध छ ।’

सांसद श्रेष्ठका श्रीमान रेशम चौधरीको अगुवाइमा भएको नाउपा केन्द्रीय समिति बैठकले केन्द्र सरकारमा नजाने र विपक्षमा बस्ने निर्णय गरेको छ । प्रेस विज्ञप्तिमार्फ बैठकको निर्णय सार्वजनिक भएकै दिन दल नेता श्रेष्ठले ह्वीप लगाएकी छन् ।