प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई भने – नियत सफा राखेर काम गर्नुस्, समस्या आए म छु

प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई भने – नियत सफा राखेर काम गर्नुस्, समस्या आए म छु


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।

‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँकतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।’

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अंग हुन्,’ उनले भने, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै उनले भने, ‘म आफू पनि राष्ट्र र कानून विपरीतको कुनै पनि काम गर्दिनँ र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।’

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले व्यहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।

तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आइपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै उनले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष नभएको बताए ।