खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड

खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को ६०औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।

उनले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताए । शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने उनले बताए ।

‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूला–ठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,’ उनले भने, ‘खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।’

आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै उनले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।’

यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै उनले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए । ‘नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,’ उनले भने, ‘परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।’

पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै उनले मूलपानी रङ्गशाला, भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए ।

सरकारले पुरस्कार सम्बन्धी कानून नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै उनले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए ।

पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै उनले यस्ता उपलब्धि हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए । उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय संघहरू निक्र्यौल गरेको बताए ।