सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिएको छ : प्रधानमन्त्री प्रचण्ड

सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिएको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्र अनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताए ।

‘सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने संकल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटर लगायतका सेवा लिन सहज भएको छ,’ उनले भने, ‘संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रासायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।’

गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने कार्य प्रारम्भ भइसकेको जानकारी दिँदै उनले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको बताए ।

सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४ घण्टै सञ्चालनमा ल्याइएको बताउँदै उनले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताए ।

विकास आयोजनाहरूलाई समयमा नै सम्पन गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताए ।

‘नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानूनी व्यवस्थाका लागि मस्यौदा तर्जुमा भएको छ ।’

सुधार आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै उनले तदनुरूप संगठन पुनःसंरचना गरी दरबन्दी कटौती गरिएको बताए ।

सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै उनले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पारे । उनले भने, ‘यो अवधिमा भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी जग्गा प्रकरण लगायतका विषयहरूमा सरकारले गम्भीर अनुसन्धान अगाडि बढाएको र नतिजा समेत देखिने क्रममा छ ।’

भूमिहीन, सुकुम्बासी, स्ववासी लगायतका समस्या समाधानका लागि निवेदन संकलन र तथ्यांक प्रविष्टि लगायत क्षेत्रगत तयारी करीब सम्पन्न भएको जानकारी दिँदै उनले जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि सम्बन्धी तथा वन सम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकाले यी कानूनमा सुधारका लागि संशोधन भई संसदमा पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताए ।

‘सामाजिक न्यायका क्षेत्रमा माननीय सांसदहरूले संघीय संसद्मा उठाएका कतिपय विषयको निरुपण गरिएको छ,’ उनले भने, ‘मिटरब्याज पीडित जनताले न्याय पाएका छन् ।’

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्मा दर्ता भएको अवगत गराउँदै उनले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गरे ।

‘खासगरी डेंगी, लम्की स्किन, बर्ड फ्लू लगायतका महामारीजन्य प्रकोपको कुशलतापूर्वक व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘बझाङ र जाजरकोटको भूकम्पमा सरकारले उद्धार, राहत र पुनःस्थापनाको कार्यमा उदाहरणीय पहल गरेको विदितै छ । पुनर्निर्माणका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने सुनिश्चित गरिएको छ ।’