युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् ।

विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिए ।

‘राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनुछ,’ उनले भने, ‘गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनुछ, यसका लागि नवीनता र सकारात्मकता सोच ल्याउन अपरिहार्य भइसकेको छ ।’

जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन, तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने उनले उल्लेख गरे । उनले आध्यात्मिक जागरण र साधना विना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए ।

‘भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैन,’ उनले भने, ‘त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसंकल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।’

आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

‘यो शताब्दीमा मात्रै ८० वर्ष लामो राजनीतिक संक्रमण, जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका दर्जनौं समस्या व्यहोरिसक्यौं,’ उनले भने । आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै उनले त्यही क्रान्तिको फलस्वरूप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताए ।