समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् ।

जनसांस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए ।

‘संस्कृतिको जग समाज हो । तसर्थ समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,’ उनले भने, ‘जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी संगठित गर्नुपर्छ ।’

जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि संकल्प र पहल लिइएको उल्लेख गर्दै उनले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी गर्ने, जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए । उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए ।

‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,’ उनले भने, ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानव जातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञान–विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौं ।’

उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए ।

‘असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसंगीत, नृत्य, वास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,’ उनले भने, ‘यस दिशामा जनसांस्कृतिक महासंघ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।’

आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै उनले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपयुक्त पहल लिन जरूरी रहेको बताए ।

प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धिहरू आम जनसमुदायसम्म पुर्‍याउने जिम्मेवारी महासंघले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताए । सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धिहरू आम जनसमुदायसम्म पुर्‍याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै उनले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताए ।

कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा उल्लेख भएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश छन् ।