प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघका महासचिवको निमन्त्रणा पत्र हस्तान्तरण

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघका महासचिवको निमन्त्रणा पत्र हस्तान्तरण


काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी बिहीबार महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरिन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरे । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताए ।

राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताइन् ।

जलवायु परिवर्तन लगायतका समकालीन चुनौतीका साथै दीगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको छ ।