प्रधानमन्त्री प्रचण्ड भारतबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड भारतबाट स्वदेश फिर्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी भारतको २ दिवसीय औपचारिक भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आईतबार दिल्लीतर्फ गएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले स्वागत गरे ।

सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए भने नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्च पदस्थ सरकारी अधिकारी सहभागी थिए ।