रूग्ण उद्योगहरू पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौं : प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौं : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताए ।

ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा उनले जोड दिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौं । त्यसैले कुन–कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौं । अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौं ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनः सञ्चालन हुन सक्दैनन् । सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो । बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौं ।’

छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत थिए ।