खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री प्रचण्ड

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् ।

साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आईतबार उद्घाटन गर्दै उनले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताए ।

‘युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,’ उनले भने, ‘खेलाडीहरूको वृत्ति–विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।’

नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे । उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे ।

आगामी आर्थिक वर्ष राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाण्डुको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै उनले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आफूले हेर्ने गरेको जानकारी दिँदै उनले महत्त्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडी साथीहरूलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीहरूलाई पुरस्कृत गर्दै आएको बताए ।