काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ खालको लसपस गर्न थालेपछि गठबन्धन भत्किने दुर्घटना भएको खुलासा गरेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताए ।
अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री प्रचण्ड स्वयं नै भएको उनले दाबी गरे । उनले प्रधानमन्त्री प्रचण्डको अस्थिरताका कारण अहिलेको परिस्थिति आएको दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रमा कुनै पनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली कांग्रेस मिलेका उनले बताए । उनले भने, ‘अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । अहिले एमालेसँग सरकारमा गइसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसकेपछि हो । अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो । त्यसैले यो कसैको कारणले गर्दा बनेको पनि होइन । कसैलाई यसले भत्काएको पनि होइन । नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन ।’
प्रतिक्रिया