शान्ति प्रक्रिया टुंगिएपछि सहिद परिवारले गर्वको अनुभूति गर्न पाउनेछन् : प्रचण्ड

शान्ति प्रक्रिया टुंगिएपछि सहिद परिवारले गर्वको अनुभूति गर्न पाउनेछन् : प्रचण्ड


सप्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताएका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उनले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र बेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताए ।

‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुनेछ । सहिद तथा बेपत्ता यौद्धाहरूको सम्मान, उनीहरूका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ,’ उनले भने, ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुनेछ ।’

आफ्नो प्रधानमन्त्रीत्वकालको अन्तिम समयमा शान्ति प्रक्रियालाई टुंग्याउन आवश्यक कानून बनाउन कार्यदल गठन गरिएको र अहिले कार्यदलको सहमतिअनुसार संसदबाट टीआरसी विधेयक नै पारित भएसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो शान्ति सम्झौताका पक्षधर शक्ति र जनताका लागि गौरवको कुरा भएको बताए ।

शान्ति सम्झौता भएको झण्डै १८ वर्षपछि सबै जनयुद्धका महान् सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले केही समयअघिसम्म जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने हुन् कि भन्ने चिन्ता रहेकोमा अब यो चिन्ता समाधान भएको बताए । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने अवसर पनि प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

‘जसरी हामीले प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस मनाउँछौं, त्यसरी नै मैले सरकारको नेतृत्व गरेको बेलामा तत्कालीन सबै सत्तारुढ दलको सहमतिमा जनुयुद्ध दिवस मनाउने निर्णय गरिएको थियो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले टीआरसी विधेयक नटुंगिएको कारण देखाउँदै अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हालका लागि स्थगित गर्न भनेको छ, अब टीआरसी विधेयकमा सहमति भएर सत्यनिरुपण आयोग पनि बनिसकेपछि हामी सबैले आग्रह गर्दा जनताको चाहनाअनुसार जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने बाटो खुल्नेछ भन्ने पनि मेरो दृढ विश्वास रहेको छ ।’

यति ठूलो त्याग र तपस्यापछि प्राप्त भएको समावेशी समानुपातिक प्रतिनिधित्व सहितको जनतको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विगतमा संविधान मिचेर पटक–पटक संसद् विघटन गर्ने परिघटना हामीले व्यहोरेकै हौं, हामीले सडकमा गएर जनतालाई साथ लिएर खबरदारी गरेपछि मात्रै संविधान मिच्ने र संसद् विघटन गर्ने असंवैधानिक कदम परास्त भएको थियो । अहिले पनि फेरि जनताका अधिकारमाथि हुनसक्ने प्रहारविरुद्ध निरन्तर सचेततापूर्वक खबरदारी गर्नु आवश्यक छ । जरुरी पर्दा संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउन एकजुट भएर सडकमै जानुपर्ने पनि हुनसक्छ, त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने भएको छ।’

सरकारले गलत काम नगरोस् भनेर भर्खरै आफूले संसद्मा खबरदारी मन्तव्य दिएको स्मरण गराउँदै उनले सरकारले सही काम गरे आफूले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनविरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने बताए । आफूले संसदमा गरेको सम्बोधनपछि देशैभरिका जनताले सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो अधिकारप्रति जनता बढी नै सचेत रहेको आफूले पाएको पनि उनले बताए ।

आफूहरूले कसैलाई आरोपित नगरेर निष्पक्ष रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गर्दागर्दै पनि सरकारबाट हटाइएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूलाई राम्रोसँग थाहा छ, लाखौं युवाहरूले नागरिकता पाउन सकेका थिएनन्, उनीहरूलाई नागरिकता हाम्रै सरकारले दियो । वर्षौदेखिको मिटरब्याजपीडितको समस्या हाम्रै सरकारले समाधान गर्यो तर त्यो एकथरि माफियालाई पचेन र सरकार ढाल्न पुगे ।’