बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको योजनाबद्ध पहल पुगेन : अध्यक्ष प्रचण्ड

बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको योजनाबद्ध पहल पुगेन : अध्यक्ष प्रचण्ड


काभ्रे – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनःस्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण अवलोकनपछि उनले प्रभावित क्षेत्रको स्थिति भयावह रहेको बताए ।

उनले अझै पनि केही नागरिक बेपत्ता रहेका, केही नागरिक प्रभावित क्षेत्रमा फसेका र प्रभावित क्षेत्रमा खाद्यवस्तु लगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताए । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्धार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रूपमा प्रभावित स्थलमा पुग्न नसकेको उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत् आपूर्ति, सञ्चार सम्पर्क लगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले उद्धार, राहत र पुनःस्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरूलाई धन्यवाद दिँदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताए । उनले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्व तयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औंल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गरे ।

उनले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताए । सोहीअनुसार मंगलबार आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै बुधबार काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिए ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रूपमा उपयोग गर्न निर्देशन दिए । जनता पीडामा रहेको बेला उनीहरूलाई आशा र भरोसा दिँदै हरेक समस्या समाधानका लागि अगुवाइ गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता–कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसूस गर्ने वातावरण बनाउन आग्रह गरे ।

अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरूबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरूको उद्वार, राहत तथा पुनःस्थापनाबारे भएका कामको जानकारी लिएका थिए ।

उनले धुलिखेल अस्पतालमा घाइतेहरूलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा–१२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाँडाको अवस्थाको अवलोकन गरेका थिए ।