२०८४ सालको चुनावमा माओवादी एक्लै प्रतिस्पर्धामा जान्छ : अध्यक्ष प्रचण्ड

२०८४ सालको चुनावमा माओवादी एक्लै प्रतिस्पर्धामा जान्छ : अध्यक्ष प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दोलखा–काठमाण्डु सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको बताए ।

उनले अब देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताए । पछिल्लो समय टान लगायतका कतिपय संस्थामा कांग्रेस–एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै उनले अहिले देशव्यापी रूपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताए ।

पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि माओवादीले महत्त्वपूर्ण पहलकदमी लिएको जानकारी दिँदै उनले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उनले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताए ।

सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र जनताबीच पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै उनले यस वर्ष दशैंतिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता–कार्यकर्ताहरूलाई आग्रह गरे । अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरूले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उनले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताए ।

जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै उनले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र विपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताए ।

सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताए । देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रूपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्व समुदायसामु ऐतिहासिक रूपमा स्थापित भएको बताए ।

कार्यक्रममा पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताए । उनले सबै दलका नेताहरूको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताए ।