माओवादीहरूबीच चाँडै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

माओवादीहरूबीच चाँडै एकता हुन्छ : अध्यक्ष प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटकहरूबीच चाँडै एकता हुने बताएका छन् ।

चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै स्कूलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुने बताए ।

‘अहिले हामी सबै एकताबद्ध भएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको छ । शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो बिन्दुमा पुगेका छौं,’ उनले भने ।

सबैलाई एकताबद्ध गराएर समाजवादी क्रान्ति पूरा गर्ने उनले बताए । पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा शहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने लगायतका ऐतिहासिक काम गरिएको उनले बताए ।