काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा बनेको सरकारले नेपाललाई लोडसेडिङबाट मुक्त गराएको दाबी गरे ।
आफूले जनार्दन शर्मालाई ऊर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि देशमा लोडसेडिङको अन्त्य भएको बताए । अहिलेको सरकार जनार्दन, कुलमान, नारायणकाजी र प्रचण्डको नाम सुनेर नै त्रसित भएको उनले आरोप लगाए ।
अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रलाई समेत फुटाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘माओवादीलाई समाप्त गर्न उनीहरू लागेका छन् । त्यसका लागि उनीहरू दिनरात लागेका छन् । प्रचण्ड रहेसम्म केही गर्न सकिँदैन भनेर उनीहरूलाई चिन्ता छ ।’
अध्यक्ष प्रचण्डले एक्लै चुनाव लड्ने घोषणा गर्दै बिचौलियाका पृष्ठपोषकसँग मिलेर चुनाव नलड्ने बताएका छन् ।
प्रतिक्रिया