प्रचण्डको प्रस्टीकरण : रविलाई बचाउन ओली लागेका हुन्, मेरो सुझावमा छानबिन समिति बनेको हो

प्रचण्डको प्रस्टीकरण : रविलाई बचाउन ओली लागेका हुन्, मेरो सुझावमा छानबिन समिति बनेको हो


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई बचाउन माओवादीले खबरदारीसभा गरेको आशंकालाई खण्डन गरेका छन् ।

शनिबार काठमाण्डुमा भएको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको आरोप लगाए ।

सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको प्रस्ट पारे ।

‘तपाईंहरूलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्‍यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआईबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौं, माओवादी पर्‍यो भने पनि समात्नुस् भनेको हो । अरू हैन प्रचण्ड देखापर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ ?’

उनले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षड्यन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।