माओवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी गर्छ : अध्यक्ष प्रचण्ड

माओवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी गर्छ : अध्यक्ष प्रचण्ड


हेटौंडा – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै स्थानीय तहमा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने बताएका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले खबरदारी सभाबारे पर्सि बैठक बसेर निर्णय गरिने बताए ।

‘अब अर्को एउटा मेची–महाकाली अभियान चलाउँदैछु, पर्सि हामी बैठक बसेर ७५३ वटै पालिकामा खबरदारी सभा गर्ने गरी निर्णय गर्दैछौं,’ उनले भने, ‘मलाई विश्वास छ, उनीहरूको सातो त गई नै सकेको छ । उनीहरू होपलेस भई नै सकेका छन् । उनीहरूलाई होपलेस हुन दिनुपर्छ र हामीहरू नयाँ आत्मविश्वासका साथ एउटा नयाँ आन्दोलनमा जानुपर्छ ।’

अध्उइा प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुँदासम्म राजनीतिक स्थिरता नहुने बताउँदै अब त्यसैलाई एजेन्डा बनाएर आन्दोलित हुने जानकारी दिए ।

उनले भने, ‘यो देशमा जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन र त्यो प्रमुखले ५ वर्ष शासन गर्न पाउँदैन, स्थिरता हुँदैन, बेथितिको अन्त्य हुँदैन । त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारासहित सबै उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई आन्दोलित गर्ने हिसाबले एउटा नयाँ संकल्पसहित म जाँदैछु ।’